नागरिक लगानी कोष ३५औं वर्षमा

तु खबर संवाददाता
२०८१ चैत्र ३,सोमबार १२:२८

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्थापनाको ३४ वर्ष पूरा गरेको छ । ३४ वर्ष पूरा गरेको अवसरमा कोषले आफ्नो वार्षिक उत्सव मनाएको छ ।

वि.स २०४८ सालबाट कारोबार सुरु गरेको कोषको स्थापना नागरिक लगानी कोष ऐन २०४७ अनुसार भएको हो ।

सर्वसाधारणको बचत गर्ने, लगानीको अवसर बढाउने, अवकास कोष तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्धेश्य अनुरुप कोषले आफ्ना योजनाहरु बनाएको जनाएको छ ।

वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आर्थिक समृद्धि र पूर्वाधार क्षेत्रको विकासका लागि नेपाल सरकारले अवलम्बन गर्ने नीतिलाई कोषले आफ्नो मार्गदर्शक नीतिको रुपमा अंगाल्ने विश्वास व्यक्त गरे ।

कोषले आर्थिक लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान पुर्याउन उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए।

साथै कोष सञ्चालक समितिका अध्यक्ष प्रा।डा सूर्य बहादुर थापाले अबको केही समयमा कोष पूर्ण अटोमेसनमा गई सहभागीलाई अनलाइन प्रणालीबाटै सेवा दिन लागिपरेको बताए।

त्यस्तै कोषका कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले जोखिम विश्लेषण गर्दै लगानी विविधिकरण गर्न, सरकारले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्न, उत्पादनशील क्षेत्रमा लगानी बढाउन र कोषको कामलाई डिजिटलाईजेसन गर्न कोष क्रियाशील रहेको बताए। साथै उनले आगामी दिनमा अझ सरल र चुस्त सुविधा दिने, कोषको दायरा विस्तार गर्ने, शेयरधनीलाई उचित लाभांश दिँदै पूर्वाधार निर्माण, कृषि उद्योग जस्ता क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।