प्रहरी प्रशासनको नाटक : छलफलमा बोलाएर थुनामा

हेटौंडा । जिल्ला अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखिएकोमा त्यसको विरोध गर्दै बोर्डमा भएको नाम मेटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
गत चैत ३० गते ती युवाहरुले अस्पतालको नाम उल्लेख गरिएको बोर्डमा पोतेर विरोध जनाएका थिए । सो विरोधपछि उनीहरुलाई प्रहरीले खोजीरहेको थियो । आज विहीबार उनीहरुलाई छलफल गरी समस्या समाधान गर्ने भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर बोलाइएको थियो । विहानैदेखि छलफलका लागि प्रहरी कार्यालय पुगेका उनीहरुलाई एसपी विश्वराज खड्काले थुन्न आदेश दिएका थिए ।
हेटौंडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले छलफलमा बोलाएर साँझ थुनेको हो । उनीहरु विरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको गरिएको प्रहरीको भनाइ छ ।
गत ३० चैतमा साङ्केतिक विरोध स्वरुप अस्पतालको बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मेटाएका थिए भने ‘हेटौंडा अस्पताल’ मात्र लेखिएको नयाँ बोर्ड राखेका थिए ।
प्रहरी प्रशासनले राजनीतिक प्रतिशोधको आधारमा उनीहरुलाई थुनामा पठाएको आरोप पक्राउ परेकाहरुको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पतालको अस्थित्व नै संकटमा पारेको, दलीय भर्ती केन्द्र बनाएको, आर्थिक अपचलन र भ्रष्टाचारमा डुबेको लगायतका आरोपहरु उनीहरुको छ ।
यसअघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री भएका डोरमणि पौडेलले राजनीतिक प्रतिशोधको आधारमा प्रशासनको प्रयोग गरेर उनीहरुलाई थुनाएको भनाइ थुनामा जानेहरुको छ ।
तु खबरसँग कुराकानी गर्दै सुनिल गिरीले राजनीतिक प्रतिशोध र दबाबको आधारमा प्रशासनले व्यवहार गरिरहेको बताए । आज हामी बिहानदेखि नै जिल्ला प्रहरीमा छौँ, अहिले दिउँसोको ४ बजिसक्यो, कुनै छलफल भएको छैन – उनले भने ।