बोर्ड मेटाएको प्रकरण : युवाहरुलाई हिजो दबाबमा थुनियो, आज दबाबमा छोडियो

हेटौंडा । मकवानपुर प्रहरी र स्थानीय प्रशासनको चौतर्फी विरोध भएपछि हिजो पक्राउ परेका ६ जना युवाहरुलाई आज रिहा गरिएको छ । उनीहरुलाई सामान्य धरौटी लिएर रिहा गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
हेटौडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राख्ने गरी भएको निर्णय विरुद्ध हेटौंडाका युवाहरु प्रदर्शनमा उत्रिएका थिए । चरणवद्ध आन्दोलनका क्रममा सो बोर्डमा भएको नाम मेटाएको आरोपमा प्रहरीले छलफल भन्दै बोलाएर थुनेको थियो । राजनीतिक दबाबका कारण उनीहरुलाई थुन्नु परेको र अनुसन्धान गर्ने भन्दै म्याद थप भएको थियो । तर, युवाहरुको पक्राउका विरुद्ध हेटौंडामा प्रदर्शन हुन थालेपछि आज उनीहरुलाई छोडिएको हो ।
हेटौंडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले छलफलमा बोलाएर हिजो साँझ थुनेको हो । उनीहरु विरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको थियो । हिजो थुनामा परेकाहरुलाई आज छोडिए पनि प्रहरी प्रशासनको व्यापक आलोचना भएको छ ।
गत चैत ३० गतेको घटनापछि प्रहरीले ती युवाहरुको घरघरमा पुगेर परिवारका सदस्यहरुलाई मानसिक यातना दिने काम गरेको सार्वजनिक भएको थियो । मकवानपुर प्रहरीले परिवारलाई मानसिक दबाब दिएको कुरालाई अस्वीकार गरे पनि ती युवाहरुको खोजी भने गरिरहेको बताएको थियो । ती युवाहरु विरुद्ध कुनै पक्राउ पुर्जी जारी गरिएको थिएन, तर पनि प्रहरीले व्यापक रुपमा उनीहरुविरुद्ध अभियान चलाएको थियो ।
राजनीतिक रुपमा छलफल गरेर समस्या समाधान गर्ने भनी बोलाएर एसपीको निर्देशनमा राति उनीहरुलाई थुनिएको थियो ।
युवाहरुलाई वार्तामा बोलाएर थुनामा पठाएकोमा आक्रोशित हुँदै चक्काजाम गरेर स्थानीयहरुले प्रदर्शन गरेका थिए भने आज शुक्रबार सीडीओ कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।
सीडीओ कार्यालय तर्फ प्रदर्शनलाई जान रोकिएको थियो । हिजो राजनीतिक रुपमा चर्को दबाबमा परेको स्थानीय प्रशासनले थुनामा पठाएपनि २४ घण्टाभित्रै उनीहरुलाई थुनामुक्त गर्न प्रशासन तयार भएको हो, यो चौतर्फी दबाबको परिणाम भएको बताइएको छ ।