बनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी

लोपोन्मुख जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखी ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका ४, मुसेधापमा शनिवार उक्त सामग्रीहरु वितरण गरिएको हो ।
अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको थियो । मनहरी गाउँपालिका ४ का वडा अध्यक्ष प्रकाश थापाले बनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरेका थिए ।
कार्यक्रममै वनकरियासहित ५१ बालबालिकाका लागि कपी ५६ दर्जन, डट्पेन १५ पाकेट, पेन्सील ५ बक्स, सापनर १५ बक्स, ईरेजर १५ बक्स, रेकर्ड फाईल ५० वटा लगायतका शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो ।
अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा सन्तोषी परियोजना अन्तरगत १ बर्षका लागि ट्युसन कक्षा संचालन गर्न प्रदान गरिएको हो ।
यसैबिच, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजनामा शुक्रबार जलवायु परिवर्तनले आदिवासी महिला तथा किशोरीहरुलाई पारेको असरबारे छलफल कार्यक्रम भएको छ ।
वनकरियासहित स्थानीय महिला तथा किशोरीको सहभागिता रहेको कार्यक्रममा बंगलादेशी स्वयम् सेवक एलिजा बास्के र अप्सना अनिले सहजिकरण गरेका थिए ।