शिक्षाको अधिकार सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौ। सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको भन्दै अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।
कक्षा १२ को परीक्षा कार्यक्रम २०८२ वैशाख ११ गतेदेखि सुरु हुने गरी प्रकाशित भइसकेको छ। यता, एसईई परीक्षाका उत्तरपुस्तिका परीक्षण र विद्यालय भर्ना प्रक्रिया पनि अझै सुरु हुन सकेको छैन। शिक्षकहरु आन्दोलनमा हुँदा सामुदायिक विद्यालयका विद्यार्थी अलमलमा परेका छन् ।
यस सन्दर्भमा, राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई वैशाख ७ गते पत्राचार गरी समस्या समाधानको अनुरोध गरेको छ। पत्रमा नेपालका संविधानको धारा ३१ र ३९ अन्तर्गत बालबालिकाको मौलिक हकको संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासङ्घसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन गर्न वातावरण तयार पार्न अनुरोध गरिएको छ।
आयोगले समस्याको समयमा समाधान नभए लाखौं विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्ने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । शिक्षाको अधिकारमा अवरोध आउन सक्ने, शैक्षिक क्यालेण्डर प्रभावित हुने र समग्र शिक्षा प्रणालीमा नकारात्मक प्रभाव पर्ने डर व्यक्त गरिएको छ।