वैदेशिक रोजगारीमा पठाउने नाममाा ठगी गर्ने ३ जना पक्राउ

तु खबर संवाददाता
२०८२ बैशाख ९,मंगलवार ०९:४२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।

पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख रूपैयाँ, केदारले माल्दिभ्स पठादिने भनी २ जनाबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिने भनी २ जनाबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहिन भएको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौं महानगरपालिका- ३२ बाट शुक्रबार र पोषणराजलाई दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।