नेपालको पहिलो स्वायत्त क्षेत्र बन्दै गंगोलिया
रुपन्देही, ५ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नम्बर १७ लाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग बमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।
स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरिएकोले यदि सफल भएमा यो नै नेपालको पहिलो स्वायत्त क्षेत्र घोषणा हुने छ । स्थानीय सरकार सञ्चालन ऐनमा एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिति र बाहुल्यता रहेको, सामाजिक तथा आर्थिक विकास सूचकाङ्क राष्ट्रिय औषतभन्दा कम रहेको जिल्ला, स्थानीय तह वा वडालाई प्रदेश सरकारको परामर्शमा नेपाल सरकारले स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था भए अनुरुप स्वायत्त क्षेत्र घोषणाको सिफारिस गरिएको हो ।
थारु समुदायको बाहुल्यता रहेको यो वडा साविक गंगोलिया गाविसमा पर्दछ । भौतिक तथा सामाजिक विकासका हिसाबले यो वडा तिलोत्तमाका अन्य वडाभन्दा पछि रहेको छ ।