आईतबारको असिना र हुरीले करिब २० करोडको केरा खेती नष्ट
![](https://www.tukhabar.com/wp-content/uploads/2018/05/Kera-Bari-Nasta_Tukhabar.jpg)
चितवन, २४ बैशाख । आईतबार आएको हावाहुरीका कारण पुर्वी चिवतनमा १५ देखि २० करोडको केरा नष्ट भएको अनुमान गरिएको छ । असिना सहित आएको हावाहुरीले पुर्वी चितवनको कालिका नगरपालिको पदमपुरमा रहेको केरा खेती पुर्ण रुपले नष्ट गर्नुका साथै अन्य बालीमा पनि क्षति पुर्याएको छ ।
असिनाले कालिका नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म बढी क्षति पुर्याएको छ । मुख्य गरि मकै, तरकारी एवं फलफूलमा बढी क्षति पुगेको छ । पूर्वी चितवनमा लगाईएको झण्डै दुई हजार विघा क्षेत्रफलको केरा खेती पूर्ण रुपमा नष्ट भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले बताए ।
हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको तथ्याङ्क संकलनमा लागि सम्बन्धित वडाका वडाध्यक्षहरुलाई लगाईएकाले एक दुई दिन भित्र पुर्ण विवरण आउने कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले जानकारी दिएका छन् । दैवी विपत्तीमा परेकाहरुलाई नगरपालिकाले क्षतिको मूल्यांकनको आधारमा सकेको सहयोग गर्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।