तामाङको मुद्धा उठाउँदै मकवानपुरे तामाङ पत्रकारहरु, थाहा नगरबाट यस्तो भयो निर्णय

तु खबर संवाददाता
२०७५ बैशाख २९,शनिबार २१:२७

थाहा नगर, २९ बैशाख । तामाङ पत्रकार संघ मकवानपुर जिल्ला शाखाले तामाङ समुदायका विभिन्न मुद्धाहरुलाई संचारमाध्यमबाट उजागर गर्नका लागि विशेष भूमिका निभाउन सफल प्रयास सुरु गरिएको निश्कर्ष निकालेको छ । शनिबार थाहानगरपालिका वडा नम्बर ४ थाना बजारमा संघको नियमित मासिक बैठकका क्रममा अघिल्ला महिनाको कार्य योजनाको कार्यान्वयन सम्बन्धमा समिक्षा गर्दै संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले तामाङका विशेष मुद्धाहरुलाई उठाउन आफुहरु अग्रसर भएको बताएका हुन् ।

संघले वि.सं. २०७४ साल चैत ३ गतेको पहिलो बैठकमा ३ वर्षीय योजना बनाउने क्रममा ‘तामाङ समाचार अभियान’ थालनी गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत कार्य समितिका ११ जना पदाधिकारी र कार्य समिति सदस्यहरुले व्यक्तिगत रुपमा अन्य संचारकर्मी र स्थानीयहरुको सहयोगमा तामाङ समुदायका विभिन्न विषयहरुमा केन्द्रित रही मासिक रुपमा ५–५ वटा समाचार तयार गर्ने निर्णय गरिएको थियो ।

उक्त निर्णयका सम्बन्धमा समिक्षा गर्दै संघका कार्य समिति सदस्य जयराम मोक्तानले आफुले तामाङ कार्यक्रम मार्फत तामाङ समुदायका विभिन्न समस्या र विकासका बारेमा रेडियो सामग्री प्रस्तुत गरिरहेको बताए । साथै विभिन्न समस्याहरुको पहिचान गरि समाचार लेखनको थालनी समेत गरेको बताए । मोक्तान रेडियो मनहरीमा कार्यरत छन् । संघका अर्का सदस्य दिपक सिं रुम्बाले तामाङ समुदायको विभिन्न पक्षको विकास र गुम्बा निर्माणका सम्बन्धमा आएका बजेटहरुको हिनामिना सम्बन्धी समाचार तयार पारेको बताए । उनी हेटौँडा एफ.एम.मा कार्यरत छन् ।

समिक्षाका क्रममा अर्का सदस्य भुवन घलानले आगलागीबाट स्थानीय तामाङ परिवारमा परेको समस्याका बारेमा हेटौँडा सन्देश दैनिक, तु खबर डटकम जस्ता संचार माध्यमहरुमा समाचार प्रकाशन गरि सहयोगको अपिल गरेको बताए । साथै सरकारले २० वर्ष पुराना गाडीहरु हटाएपछि विद्यार्थीहरुमा परेको समस्याका बारेमा समेत समाचार तयार पारी प्रकाशन गरेको बताए । उनी हेटौँडा सन्देश दैनिकमा कार्यरत छन् । संघकी अर्का सदस्य कौशिला वाईबाले रेडियो कार्यक्रम मार्फत यथासक्दो तामाङ समुदायका विभिन्न पक्षहरु राख्ने प्रयास गरेको जानकारी गराए । उनी रेडियो आवाजमा कार्यरत छिन् । समावेशी चिन्तन साप्ताहिकमा कार्यरत संघका अर्का सदस्य सन्देश थिङले आफु कार्यरत मिडियामा तामाङ समुदाय सहित अन्य जातिका समेत साझा मुद्धालाई उठाउने गरेको जानकारी दिए ।

त्यस्तै रेडियो राजमार्गमा समेत कार्यरत रहेकी संघकी जिल्ला सहसचिव राममाया वाईबाले समिक्षाका क्रममा बोल्दै तामाङ समुदायका विभिन्न मुद्धाहरुको उठान गर्न आफु सदैव तयार रहेको बताए । उनले तामाङ समुदायका विभिन्न पक्षहरुका बारेमा समाचार तयार पारेको समेत बताए । अभियानका बारेमा समिक्षा गर्दै शान्तिपुर दैनिकमा कार्यरत संघका जिल्ला उपाध्यक्ष जनक तामाङले आफु कार्यरत मिडियामा सकेजति तामाङ समुदायका विषय समेट्ने गरेको बताए । साथै तामाङसँगै अन्य जातिका साझा समस्यालाई समेत स्थान दिने गरेको जानकारी दिए ।

अभियानका बारेमा समिक्षा गर्दै तु खबर डटकमका कार्यकारी सम्पादक समेत रहेका संघका जिल्ला अध्यक्ष चन्द्र घलानले गाई–काण्डका बारेमा आफुले लेखेको समाचार राष्ट्रिय बहस बन्न सफल भएको बताए । साथै तामाङ समुदायसहित ग्रामिण भेगका र जनचासोका समाचारहरुलाई प्राथमिकतामा राखेको बताए । ‘तामाङ समाचार अभियान’मा संघका जिल्ला सचिव दिलबहादुर लामा, कोषाध्यक्ष सुनु थिङ, सदस्य कुमारी गोले, केन्द्रीय सदस्यद्वय दुदुमाया सिन्तान र शुभराज भोम्जन सहित कुमार नेगी, नवराज वाईबा, सुनसानी थिङ, धर्मराज,स्याङ्तान, शुशिल ब्लोन लगायतका तामाङ पत्रकार तथा अग्रजहरुले समेत सहयोग गरिरहेको बताइएको छ । शनिबार बसेको बैठकले समाचार अभियानलाई अझ सशक्त ढंगले निरन्तरता दिने निर्णय समेत गरेको छ ।

‘समाचार लेख्नै समस्या’
समिक्षाका क्रममा संघका सदस्यहरुले तामाङ समुदायका विषयहरु उठानका क्रममा आफुहरुलाई समाचार तयार पार्न समेत समस्या भएको बताएका छन् । समस्याको विषय वस्तु पहिचान र त्यसको तथ्य संकलनका लागि पर्याप्त समय अभाव हुनु, समस्याहरु प्रष्ट खुलेर नआउनु, प्राविधिक कठिनाई पर्नु लगायतका समस्याहरुमा आफुहरु अल्झिएको उनीहरुले गुनासो गरेका छन् ।

उनीहरुले संघले जिल्लाका नयाँ तामाङ पत्रकारहरुलाई समाचार संकलन, लेखनका विषयमा समेत तालिमको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

‘लगत संकलन अन्तिम चरणमा’
यसै क्रममा बैठकमा अघिल्लो बैठकमा भएको निर्णय अनुसार जिल्लामा कार्यरत तामाङ पत्रकारहरुको लगत संकलन अन्तिम चरणमा पुगेको चर्चा गर्दै आउँदो मासिक बैठक अगावै लगत संकलनको कार्य पुरा गरि तामाङ पत्रकारहरुको जानकारी सबै मिडियामा सम्प्रेशण गर्ने र प्रकाशन समेत गर्ने निर्णय गरेको छ ।
लगत संकलनका क्रममा तामाङ पत्रकारका पेशागत जानकारीसहित उनीहरुले संचालन गरेका कार्यक्रमहरुसहितको सम्पर्क ठेगानाहरु समेत संकलन गरिने छ ।

‘नयाँ विधानका कारण अन्य काम अधुरो’
तमाङ पत्रकार संघको पाँचौँ राष्ट्रिय अधिवेशनबाट विधान संसोधन गर्ने तथा नाम र लोगो समेत परिवर्तन गरिने निर्णय भएसँगै संसोधित विधान पारित भइनसकेकोले संघले अन्य कार्य योजनालाई भने थाँती राखेको छ । यस अघिको बैठकमा बैँक खाता संचालन, नयाँ सदस्यता वितरण र मासिक शुल्क उठाउने विषयमा निर्णय भए पनि संसोधित विधान र लोगोका कारण उक्त निर्णयहरु कार्यान्वयन गर्न नसकिएको संघले जनाएको छ ।

संसोधित विधान र लोगो तयारी पश्चात ती निर्णयहरुलाई कार्यान्वयन गरिने बताइएको छ । संघले पहिलो बैठकमा निर्णय भए अनुरुप एक महिना हेटौँडा, दोस्रो महिना फेसबुक ग्रुप च्याट तथा तेस्रो महिना थाहा नगरमा संघको बैठक बस्ने निर्णय भए अनुसार शनिबार संघका अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा थाहानगरमा बैठक बसिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*