जनप्रतिनिधिसँग मिलेर जेठाजुले कुटे बुहारी, लगाईयो बोक्सीको आरोप
रौतहट, ९ जेठ । रौतहटमा एक महिलालाई बोक्सीको आरोपमा उनकै जेठाजु र जनप्रतिनिधिसहितको टोलीले कुटपिट गरेका छन् । गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेको आजको नागरिक दैनिकमा समाचार छ । कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन्। पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन् ।
जेठानी सुमित्रा देवीको छोरा विजय राम गत एक बर्षदेखि विरामी रहेको र उनको उपचार गराउँदा पनि निको नहुँदा धामी झाँक्रीले देवरानी नै बोक्सी भएको आरोप लगाए पछि जेठानीसंगैं जेठाजु चुन्नी राम, उनका छोराहरु संजय, रंजय लगायतका आफन्तहरुले लछारपछार गरेर निर्घात कुटपिट गरेको पीडिताले बताएकी छिन् ।
कुटपिटबारे सोमबार साँझ नै प्रहरीलाई जानकारी गराएको गीताले बताइन् । गीताको श्रीमानलाई समेत दाजुलगायतले पनि कुटपिट गरेका छन् । आफ्नै जेठानी र जेठाजुबाट बोक्सीको आरोप लगाई कुटपिट गरेकोमा उनीहरुलाई कारवाही हुनुपर्ने गीताको माग छ ।
बोक्सीको आरोप लगाएर कुटपिट गरेकी महिला सुमित्रा स्थानीय तहको निर्वाचनमा गौर नपा वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित भएकी थिइन् । जिल्ला अस्पताल गौर आकस्मिक कक्षका प्रमुख रबीन्द्र झाले बोक्सी भनेर कुटपिटबाट घाइते महिलाको शरीरको प्राइवेट पार्टदेखि लिएर शरीरको विभिन्न स्थानहरुमा कुटपिट गरेको देखिएको बताए ।
यसैबिच गीतालाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गर्ने पक्ष फरार भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।