जीतपुर-सिमरामा-गुप्ता-र-कार्कीबीच-टिकटको-लागि-तिब्र-प्रतिस्पर्धा
बारा / आसन्न स्थानीय तहको निर्वाचनमा जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट तीन जना आकांक्षीहरु देखिएका छन् । मेयरका आकांक्षीहरु टिकट आफूले पाउने कसरतमा छन् ।
नेपाली काँग्रेसको तर्फबाट उपमहानगरपालिकामा मेयर पदमा श्यामबाबु गुप्ता, कृष्ण वर्त सिंह र व्यवसायी ओमकृष्ण कार्की टिकटको लागि दौडधुपमा छन् । टिकटको लागि चर्चामा रहेका गुप्ता नेपाली काँगेस नगर सभापति हुन्, सिंह पार्टीको क्रियाशील सदस्य हुन् भने कार्की तराई यातायात व्यवसायी संघका अध्यक्ष हुन् । व्यवसायिक पृष्ठभूमिका कार्की, लामो समय नेपाली काँग्रेसमा रहेका सिंह र हालका सभापति गुप्ताबीच टिकट कस्ले पाउँछ भन्ने जिज्ञासा काँग्रेसमा मात्र होइन, अन्य दलको पनि प्रतिक्षाको विषय छ । उनीहरु तीनै जना मेयरको टिकटका लागि काठमाडौँमा छन् । काँग्रेसका तर्पबाट उम्मेदवार निश्चित भएपछि चुनावी रणनीति बनाउन अरु दल लाग्नेछन् । माओवादी केन्द्रका तर्फबाट मेयरमा राजन पौडेलको निर्णय भइसकेको छ । निर्णयपछि पौडेल आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् ।
काग्रेसका नगर सभापति गुप्ताले मेयरको उम्मेदवार आफू हुने दावी गरे । नेपाली काँग्रेसले मलाई नै अघि बढाउने निश्चित जस्तै छ, सबैको सहयोगको अपेक्षा छ, उनले भने । त्यसैगरी, नेपाली काँगेसकै तर्फबाट व्यवसायी पृष्ठभूमिका कार्कीले पनि आफू उम्मेदवार हुने दावी गरे । तु खबरसँग कुराकानी गर्दै कार्कीले आफ्नो पक्षमा माहौल रहेको बताए । कार्की र गुप्ताबीच टिकटको लागि प्रतिस्पर्धा छ । कसले निर्णय आफ्नो पक्षमा पार्छन्, त्यसका लागि भने कुर्नै पर्ने भएको छ ।