नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
हेटौंडा, १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठकले प्रदेश ३ को नाम ’वाग्मती’ राख्न प्रस्ताव गर्ने निर्णय गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘समय अभावका कारण बैठक लामो समय चलेन। त्यसैले अब छिट्टै अर्को बैठक राख्रे सल्लाह भएको छ।’ उनले प्रदेश ३ को नामको प्रस्ताव बारे भएको निर्णय सम्बन्धमा केही पनि बताएनन्।
नेकपाकी एक नेतृका अनुसार बैठकले राजधानी र नामको टुंगो लगाएको जानकारी दिइन् । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती तथा राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन ।