‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
हेटौंडा, पुस १३ । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति सोही पार्टीका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
काभ्रे राजधानी बनाउन प्रस्ताव दर्ता गरेका नेकपा प्रदेशसभा सांसद चन्द्र लामाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विधि प्रक्रिया र संविधानले दिएको अधिकार नमिच्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्य लामाले काभ्रेलाई राजधानी बनाएरै छाड्ने दावीसमेत गरे । प्रदेशसभामा दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा रहेकाले पार्टी केन्द्रले निर्देशन दिँदैमा नहुने उनले बताए ।
लामाले हेटौंडाबाट राजधानी सार्न पार्टीभित्र नै बहुमत भएको दावी समेत गरे । २०७४ चैत १४ गते नेकपा संसाद चन्द्र लामाले काभ्रेलाई राजधानी बनाउँन प्रदेशसभा सचिवालयमा प्रश्ताव पेश गरेका थिए ।
प्रस्तावमा काभ्रेकै प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल, बसुन्धारा हुमागाई र रत्न ढकालले समर्थन गरेका थिए । उनीहरु तीनैजना नेकपाका नेता हुन् ।