‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
हेटौंडा, १४ पुस । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति नेकपाकै प्रदेशसभा सदस्यहरुले आफ्नो असन्तुष्टि सार्वजनिक रुपमै व्यक्त गर्न थालेका छन् ।
प्रदेश ३ का प्रदेशसभा सदस्य, प्रभावशाली नेता तथा पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेकपाको सचिवालय बैठकले संविधानले दिएको अधिकारको मर्म नबुझी निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभा सदस्यहरुको अधिकार कुण्ठित गर्ने गरी पार्टीले निर्णय गरेको उनको भनाई छ ।
तु खबरसँग टेलिफोनमा कुरा गर्दै पाण्डेले प्रदेशले निर्माण गर्ने कानुनहरु अब पार्टी केन्द्रीय कमिटीले बनाउने भन्दै व्यङ्य गरेका छन् । ‘पार्टीले सोचविचार नगरी निर्णय गरेको छ । यो संविधान र प्रदेशसभा सदस्यहरुको अधिकार विपरित छ ।–’ पाण्डेले भने ।
प्रदेश ३ को राजधानी र नाम राख्ने अधिकार प्रदेशसभालाई संविधानले दिएको भन्दै नेकपा सचिवालय बैठकको निर्णय जायज नभएको धारणा पाण्डेले राखे । पार्टीले सबै निर्णय गरेपछि प्रदेशसभाका सदस्यहरुलाई सुख मिलेको उनले बताए ।
उनले पार्टी नेतृत्वलाई अन्य प्रदेशको पनि राजधानी र नाम नटुंग्एिको अवस्थामा प्रदेश ३ को मात्रै निर्णय किन गरिएको भन्दै प्रश्न गरे ।
धादिङबाट निर्वाचित पूर्वमन्त्री पाण्डे प्रदेश ३ का मुख्यमन्त्रीको दाबेदार थिए । पाण्डेले विगतदेखि नै प्रदेशको राजधानी हेटौंडा अपायक भएको बताउँदै आएका थिए । प्रदेशसभा बाट प्रक्रियागत रुपमा राजधानी र नामाकरण टुंगियोस भन्ने उनको चाहना थियो ।
तर, प्रदेशसभा सदस्यहरुसँग सामान्य छलफल र बहस समेत नगरी पार्टीको हाईकमाण्डबाट निर्णय भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । हिजैपनि नेकपाकै प्रभावशाली प्रदेश सदस्यहरुले पार्टी हाइकमाण्डको निर्णयको विरोध गरिसकेका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलमा राजधानी र यसको नामाकरणको विषय कहिल्यै छलफलमा ल्याएनन् । बरु केन्द्रीय नेताहरुलाई केन्द्रबाटै टुंग्याइदिन हारगुहार गर्दै आइरहेका थिए ।