जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा

तु खबर संवाददाता
२०७६ पुष १४,सोमबार १२:२०
file-photo

हेटौंडा, १४ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड १० मंसिरमा हेटौंडा आए । उनी मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरूसँगको करिब पौने घन्टा लामो भेटघाटमा बसे ।

प्रचण्डले भेटमा भनेका थिए, ‘प्रदेश–३ को राजधानी हेटौंडा र नाम बाग्मती उपयुक्त हुन्छ ।’ सुरक्षा र संरचनाको कारणले पनि प्रदेशको स्थायी राजधानी हेटौंडा उपयुक्त हुने प्रचण्डको भनाइ थियो ।

तर, प्रचण्डले अन्तिम निर्णय नदिई भनेका थिए, ‘राजधानी र नामका विषयमा अड्केर बस्ने बेला छैन । म काठमाडौं फर्केर छलफल गर्छु र चाँडो टुंग्याउन पहल गर्छु ।’

आइतबारको बैठक सुरु भएलगत्तै दुवै अध्यक्षले छोटो समय भएकाले एउटा मात्र एजेन्डामा निर्णय गर्नुपर्ने भन्दै प्रदेश–३ को राजधानी र नाम टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

विवादकै बीच प्रदेश राजधानीका विषयमा प्रचण्डले हेटौंडा हुनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । आफ्नो क्षेत्रमा प्रदेश राजधानी हुने अवस्था नदेखेपछि प्रचण्डले प्रदेश राजधानी हेटौंडा बनाउन सकारात्मक थिए । प्रचण्डको गृह जिल्ला चितवन प्रदेश–३ मै पर्छ ।

प्रचण्डले हेटौंडामा पुगेर दिएको आश्वासन आइतबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले अनुमोदन गरेको छ । बैठकले प्रदेश–३ को राजधानी हेटौंडा र नाम बाग्मती बनाउने निर्णय लिएको छ ।

निर्णय कार्यान्वयनका लागि पार्टीको प्रदेश कमिटी र संसदीय दललाई निर्देशन दिने नेकपाको निर्णय छ । प्रदेश नाम र राजधानी प्रदेश सभाको अधिकार भए पनि नेकपा नेतृत्वले यसलाई बेवास्ता गर्दै आफैँ पहल लिएको छ ।

प्रदेशभित्र तीव्र मतभेदले नाम र राजधानी तोक्न कठिन भएपछि मुख्यमन्त्रीले नै पार्टी नेतृत्वसँग गुहार मागेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारी, नेकपा अध्यक्षद्धय केपी ओली र प्रचण्डसँग निर्णयको लागि अनुरोध गरेका थिए ।

राजधानी हेटौंडा बनाउन ५ दल सहमत थिए
३१ वैशाख ०७५ मा प्रदेश ३ सभा बैठकमा राजधानी तोक्ने प्रक्रिया अघि बढाइएको थियो । १७ मंसिर ०७५ मा बसेको संसदीय दलको संयुक्त बैठकमा राजधानी हेटौँडा कायम गर्न ५ वटा राजनीतिक दलका नेता सहमत भएका थिए ।

प्रदेश ३ सभामा रहेका ७ राजनीतिक दलमध्ये विवेकशील साझा पार्टीले विमति जनाएको र नयाँ शक्तिबाट प्रतिनिधित्व नभएको अवस्थामा ५ वटा दल हेटौँडा राजधानी कायम गर्न सहमत भएका थिए ।

नेकपा, कांग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), मजदुर किसान पार्टीले राजधानी हेटौँडा बनाउन प्रस्ताव गरेका थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*