त्यो सरकारमा कमल थापा नभएको भए…

तु खबर संवाददाता
२०७६ पुष १५,मंगलवार १८:४६
file-photo

हेटौंडा, १५ पुस । अहिले राजनीतिक क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको निर्णयले हलचल मच्चाइरहेको छ ।

आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गर्यो, त्यसपछि एक्कासी देशको राजनीतिमा खैलाबैला नै मच्चायो ।

प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ दल नेकपाभित्रकै सांसदहरुको असन्तुष्टि छ । अन्य प्रदेशको हकमा निर्णय नगरी नेकपा सचिवालयले प्रदेश ३ को राजधानी र बाग्मती राख्ने गरी एक्कासी निर्णय गर्दा राजनीतिमा सन्नटा छायो ।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, काभ्रेका सांसद चन्द्र लामालगायतका नेताले सचिवालयको निर्णयले संवैधानिक अधिकारमाथि धावा बोलेको धारणा राख्दै आएका छन् । उनीहरुले प्रदेश सांसदहरुको अधिकार कुण्ठित गरेको बताइरहेका छन् ।

सोही निर्णयलाई पूर्वउपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापा, प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँलगायतका नेताले समर्थन गरिरहेका छन् ।

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको अधिकार प्रदेश सभालाई छ । आगामी प्रदेशसभा बैठकमा राजधानी र नामको विषयले मूर्तरुप पाउनेछ ।

सोमबार बसेको प्रदेश ३ मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको बैठक पुस २१ गते बोलाउने गरी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

२०७४ जेठ २४ गते गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा पनि सरकारमा सहभागी थिए । थापा सरकारमा उपप्रधान तथा उर्जा मन्त्री थिए ।

कमल थापा उनै राजनीतिज्ञ हुन, जस्को कारण प्रदेश ३ को अस्थायी मुकाम हेटौंडा भयो, राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले भने ।

चुनावमा हेटौंडालाई राजधानी बनाउने भन्दै सबै राजनीतिक दलले चुनावी एजेण्डा बनाए । तर, उनै थापा जस्ले हेटौंडालाई अस्थायी राजधानी बनाए, उनैले चुनाव पनि हारे ।

देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते देशका सातवटै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख घोषणा गर्यो । ‘घोषणा हुनु अगाडि कमल थापाले जुन भूमिका खेलेका थिए आज उनको सोही भूमिकाले मकवानपुरबासीलाई खुशी दिलाएको छ ।–’ अधिकारीले भने ।

३ गते बिहान १० बजे बसेको मन्त्रीपरिषद् बैठकमा अस्थायी मुकाम तोक्नेबारे मन्त्रीहरूबीच कुरा नमिलेपछि सरकारले बैठक स्थगित गरी ३ बजेका लागि सारेको थियो ।

बिहानको बैठकमा थापाले प्रदेश ३ को राजधानी हेटौंडा हुनुपर्ने अडान लिए । तत्कालिन प्रधानमन्त्री देउवाले थापालाई भनेका थिए– ‘अहिले काठमाडौंलाई अस्थायी राजधानी तोकेर जाउँ पछि संवैधानिक व्यवस्था अनुरुप प्रदेशसभाले निर्णय गर्छ ।–’ अधिकारीले त्यतिबेलाको परिस्थितिबारे तु खबरलाई भने ।

थापाले अडान नछोडेपछि सोही दिन दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश ३ को अस्थायी मुकाम हेटौंडालाई तोक्यो । बैठकमा राप्रपाले प्रदेश प्रमुखमा डा. जयन्त खनाललाई नियुक्त गर्न सिफारिस गरेको थियो । सातै प्रदेशमध्ये एउटा प्रदेशमा प्रदेश प्रमुख राप्रपाको भागमा परेको थियो ।

देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानीमा एउटा रोज्न भनेपछि थापाले हेटौंडालाई अस्थायी राजधानी बनाउने निर्णय लिए । उक्त थापाको निर्णयलाई हालको सत्तारुढ दल नेकपाले स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेपछि थापाले उक्त निर्णयको समर्थन जनाउँदै स्वागत गरे ।

राप्रपा अध्यक्ष कमल थापाले तु खबरसँग कुरा गर्दै आफू त्यतिबेला सरकारमा हुँदा गरेको पहल सार्थक हुन थालेको तर्फ खुशी व्यक्त गरे ।

‘वास्तवमा त्यतिबेला मैले निकै जोडबल गरी हेटौंडालाई प्रदेश ३ को अस्थायी राजधानी बनाउन सफल भएको थिएँ ।–’ उनले भने– हेटौंडा मेरो घर भएरमात्रै होइन की सबै हिसाबले प्रदेश राजधानी हुन उपयुक्त ठाउँ हो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*