हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित

तु खबर संवाददाता
२०७६ पुष १८,शुक्रबार १८:३६

हेटौंडा, १७ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक भोली शनिवार पुनः बस्ने गरी स्थगित भएको छ । मुख्यमन्त्री निवासमा दिउँसो साढे २ बजेदेखि सुरु बैठक साँझ ६ बजेसम्म चलेको थियो ।

बैठकमा १७ जना प्रदेशसभा सदस्यहरुले प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा राजधानी र नामाकरण जनभावना विपरित राख्न नहुने सांसदहरुको भनाई थियो ।

प्रदेश ३ को राजधानी र नामको विषयमा संसदीय दल एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा प्रदेशसभा सदस्यहरुले राखेका थिए । उनीहरुले जनभावना बुझेर पायक पर्ने स्थानमा राजधानी राख्नु पर्ने बताएका छन् ।

भोली शनिवार बिहान ११ बजे मुख्यमन्त्री निवासमा संसदीय दलको पुनः बैठक बस्नेछ । भोली बस्ने बैठकले प्रदेश ३ को राजधानी र नामको विषयमा दलको निर्णय टुंगो लगाइने बताइएको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले पार्टीको निर्णय मानेर अघि बढ्नु पर्ने नेकपाका सांसदरुहलाई बताएका छन् ।

बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई कदर गरेर अघि बढ्नु पर्ने धारणा पौडेलले राखे । २ वर्षसम्म पार्टीको निर्णय कुरेर बसेको भन्दै पौडेलले अब प्रक्रियागत ढंगबाट छिटो टुंगो लगाउनु पर्ने बताए ।

उनले प्रदेशसभा बैठक सुरु हुनु अगावै राजधानी र नामको विषयमा संसदीय दलले एकताबद्ध भएर जानुपर्ने बताए । उनले नेतृत्वको भावना बुझेर अघि बढ्नु पर्ने बताउँदै प्रदेश ३ को राजधानी र नामाकरणमा सचिवालय बैठकले गरेको निर्णयलाई सबैलाई स्वीकार्नु पर्ने बताए ।

पुस २२ गतेभित्र प्रदेशसभाको सबै प्रक्रिया पुरा गरेर राजधानी र नामको विषयलाई टुंगो लगाउने पर्ने बताए । २ वर्षसम्म प्रदेश ३ ले राजधानी र नामको विषय टुंगो लगाउन नसक्दा निक्कै समस्या उत्पन्न भएको धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले गत आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसविषयमा समर्थन र विरोध हुँदै आइरहेको छ ।

नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*