राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस

तु खबर संवाददाता
२०७६ पुष १९,शनिबार ०७:५७
फाइल तस्बिर

हेटौंडा, १९ पुस । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ३ वटा निर्णय गर्दै शुक्रबार काठमाडौंमा बसेको बैठक सकाएको छ ।

बैठकले प्रदेशको स्थायी राजधानी चयनका क्रममा प्रदेशसभा सदस्यलाई व्हिप नलगाउने निर्णय गरेको छ । दलको बैठक पुस २१ गते साँझ हेटौंडामा बस्ने निर्णय गरेको छ ।

बैठकमा कांग्रेस प्रदेशसभा सदस्यहरुले स्थायी राजधानी र नामाकरणको विषयमा आ–आफ्नो धारणा राखेका थिए । बैठकले सत्तारुढ दल नेकपाले संविधानको मर्म र भावना विपरित राजधानी र नामाकरणको विषयमा संसदीय दललाई निर्देशन दिनु खेदपूर्ण रहेको निर्णय गरेको कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए ।

बैठकले प्रदेशको अधिकार प्रदेशसभाले नै प्रयोग गर्न पाउनुपर्ने जनाएको छ । बैठकमा प्रदेशसभा सदस्यहरु जनताबाट निर्वाचित भएकोले यस विषयमा ह्वीप नलगाई स्वतन्त्र रुपमा आफ्नो मतदान र अभिव्यक्ति दिन पाउने निर्णय गरेको छ ।

बैठकले पुस २१ गते साँझ हेटौंडामा पुनः बैठक बस्ने र तत्कालिन समयमा के–कस्तो रणनीतिबाट २२ गतेको बैठकमा कांग्रेस संसदीय दलले उपस्थिति जनाउने भन्ने विषयमा निर्णय लिने जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले गत आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै प्रदेश संसदीय दललाई निर्देशन दिएपछि यसविषयमा समर्थन र विरोध हुँदै आइरहेको छ ।

प्रदेशसभाले २ वर्षदेखि राजधानी र नाम टुंग्याउन नसकेको स्थितिमा सत्तारुढ दल नेकपा नेतृत्वले यस्तो निर्देशन दिएपछि प्रदेश ३ को सत्तासिन नेकपा संसदीय दल र प्रमुख प्रतिपक्षी दलले यस विषयमा छलफल गर्न शुक्रबार बैठक बोलाएका थिए ।

हेटौंडास्थित मुख्यमन्त्री निवासमा भएको नेकपा संसदीय दलको बैठक भने बिना निश्कर्ष आज शनिवार बिहान पुनः बैठक बस्ने गरी स्थगित भएको थियो ।

आज बिहान ११ बजे मुख्यमन्त्री निवासमा पुनः संसदीय दलको बैठक बस्दैछ । नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय प्रदेश ३ को मन्त्रीपरिषद्ले गरिसकेको छ ।

यो पनि पढ्नुहोस्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*