हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै

तु खबर संवाददाता
२०७६ पुष १९,शनिबार १३:१३

हेटौंडा, १७ पुस । प्रदेश ३ का प्रदेशसभा सदस्यहरुले प्रदेश राजधानी हेटौंडा हुन नदिन जोड दिएका छन् ।

पुस २१ र २२ गते हुने प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी छनोट निर्वाचनमा सत्तारुढ र कांग्रेसका प्रदेश सांसदले काभ्रेलाई राजधानी बनाउने गरी आन्तरिक तयारी गरेका छन् । नेकपाका सांसदहरुको प्रयासलाई कांग्रेसका सांसदहरुले समेत सघाउने तयारी गरेका छन् ।

पार्टी केन्द्रको निर्देशन अवज्ञा गर्ने गरी नेकपाका सांसदहरुले प्रदेश राजधानी काभ्रे बनाउने गरी हस्ताक्षर अभियानसमेत सुरु गरेका छन्। नेकपाको पक्षमा धेरै मत रहेकाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केही सांसदले उनीहरुको तयारीअनुसार प्रदेश राजधानीको लागि मतदान गर्ने सोंच बनाएका छन् ।

प्रदेश राजधानीका रुपमा प्रस्तावित स्थानहरु मध्ये वर्णानुक्रमअनुसार पहिलो चरणमा काभ्रेका लागि मतदान हुनेछ । यस्तै भक्तपुर, चितवन र नुवाकोटका लागि पनि मतदान हुनेछ ।

नेकपाका सांसदहरुले ‘फ्लर क्रस’ गर्ने रणनीति बनाए भने काठमाडौं आसपासका कांग्रेस सांसदले उनीहरुको रोजाइलाई साथ दिनेछन् । प्रदेश ३ का कांग्रेस सांसदहरुको बैठकको निर्णय सुनाउँदै प्रदेश सभा सदस्य नरोत्तम बैद्यले भने, ‘उनीहरुले फ्लर क्रस गरेर काभ्रे रोजे भने हामीले साथ दिन्छौं ।’

काभ्रेलाई राजधानी बनाउन नेकपा सांसदहरुले चलाएको हस्ताक्षर अभियानमा चार दर्जन बढी सांसदले हस्ताक्षर गरिसकेको बताइएको छ ।

राजेन्द्र पाण्डेय, अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाई, केशव स्थापित, कुशुम कार्की, लक्ष्मण हमाल, चन्द्र लामालगायतका सांसदले काभ्रेलाई प्रदेश राजधानी बनाउन सांसदहरुलाई मनाउन प्रयासरत छन् ।

प्रदेश राजधानी बनाउन पक्षमा ७४ मत आवश्यक पर्दछ। नेकपा सांसदहरुको तर्फबाट काभ्रेको पक्षमा दुई तिहाइ र्पुयाउने गरी आवश्यक मत खसेमा कांग्रेसले सघाउने वैद्यले जानकारी गराए । उनले भने, ‘हामी नेकपाले के गर्छ त्यसकै लागि ‘वाच एण्ड सी’मा छौं।’ कांग्रेसका अधिकांश सांसद काभ्रेका पक्षमा छन् ।

कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई काभ्रेको पक्षमा मतदान गर्न नेकपाका कतिपय सांसदले आग्रह गरेको वैद्यले बताए। ११० सदस्य रहेको प्रदेश सभामा कांग्रेसका २१ सांसद छन् । कांग्रेस प्रदेश ३ को संसदीय दलले सांसदहरुलाई राजधानी र केन्द्रको विषयमा व्हिप नलगाउने निर्णय गरेको छ ।

मकवानपुरका स्थानीयसमेत रहेका मुख्यमन्त्री डोरमणी पौडेलको पक्षमा ९ मत रहेको छ । हेटौडालाई राजधानी बनाउने पक्षमा मुख्यमन्त्री पौडेलसहित नेकपाका ९ सांसद रहेको बताइन्छ ।

मुख्यमन्त्री पौडेलले पार्टी केन्द्रबाटै निर्देशन दिन आग्रह गरेपछि सचिवालय बैठकले आफ्ना सांसदहरुलाई हेटौडाको पक्षमा उभिन उर्दी जारी गरेको थियो। नेकपाको केन्द्रले प्रदेश नाम वाग्मती र केन्द्र हेटौंडाको पक्षमा उभिन निर्देशन दिएपनि त्यसलाई दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ ।

नेपाल लाइभको सहयोगमा

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*