हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन

तु खबर संवाददाता
२०७६ पुष २०,आईतवार ०८:५३
हेटौंडामा शुक्रबारदेखि जारी प्रदेश ३ को नेकपा संसदीय दलको बैठकमा सहभागी प्रदेशसभा सदस्यहरु ।

हेटौंडा, २० पुस । प्रदेश ३ को राजधानी र नामकरण टुङ्ग्याउन सत्तारुढ नेकपाको संसदीय दलको बैठक शुक्रबारदेखि जारी छ । शुक्रबार दिउँसो २ बजेबाट मुख्यमन्त्रीको निजी सरकारी निवासमा बसेको बैठक शनिबार दिनभर बसेको थियो ।

बैठक आज आइतबार बिहान १० बजेदेखि बस्दैछ । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेपछि कार्यव्यवस्था परामर्श समितिले पुस २१ गते संसद बैठक बोलाउने तयारीसँगै संसदीय दलको बैठक बसेको हो ।

बैठकमा राजधानी र नामकरण टुङ्ग्याउने विषयलाई प्रमुख एजेन्डाको रुपमा अघि सारिएको छ । संसदीय दलको बैठकमा नेताहरुले सचिवालयको निर्णयलाई मान्नुको कुनै विकल्प नभएको बताएका छन् ।

मकवानपुर, काठमाडौं र सिन्धुलीका सांसदहरुले पार्टी निर्णयको विकल्प जान नसकिने धारणा राखेका थिए । मकवानपुरका साथै काठमाडांै र सिन्धुलीका संसदले हेटौंडालाई नै राजधानी कायम गर्न जोड दिएका छन् ।

अस्थायी रुपमा कायम भएको भएपनि धेरै संरचना निर्माण भएकाले हेटौंडाको विकल्प खोज्न नहुनेमा उनीहरुको जोड थियो । कतिपय सांसदहरुले प्रदेशको नामको विषयमा भन्दा पनि राजधानीको विषयमा विरोध गरेका छन् ।

सांसदहरुको विरोधका बाबजुद प्रदेशको नाम र राजधानीबारे संसदीय दलले पार्टीको निर्देशनविपरित जाने अवस्था नभएको समेत एक नेताले बताए । उनले भने– ‘धेरैको असन्तुष्टि भुगोल भन्दा पनि संविधानअनुसार विधि र प्रक्रिया भएन भन्ने मात्र हो । तर सचिवालयको निर्णयलाई मान्नुको विकल्प छैन ।’

नेकपाका सचेतक रामेश्वर फूयाँलले केहि सांसदहरुले असन्तुष्ट व्यक्त गरेको बताए । उनले शुक्रबार र शनिवारको बैठकमा अधिकांशले सकारात्मक धारणा राखेको दाबी गर्दै केहि असन्तुष्ट सांसदहरुको राय सुझाव लिने क्रम जारी रहेको जानकारी दिए ।

बैठकको सुरुवातमै मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा सचिवालयको निर्णयअनुसार हेटौंडा स्थायी राजधानी र नाम बाग्मती राख्ने विषयलाई सर्वसम्मत रुपमा टुंग्याउने गरी अघि बढ्न आग्रह गरे ।

‘जसरी भए पनि २२ गते प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो लगाएर मात्र सदन स्थगित हुनेछ,’ मुख्यमन्त्री पौडेलले भने, ‘सबैले पार्टी नेतृत्वको निर्देशन कार्यान्वयन गर्नुको विकल्प छैन । केहीको असन्तुष्टि भए सम्बोधन हुनेछ ।’

प्रदेशसभामा नेकपाको ८० मत रहेको छ । राजधानी तोक्न ७४ मत भए पुग्छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*