राजधानी र नामको लागि हुने मतदान धकेलियो

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १३:३३

हेटौंडा, २१ पुस । आज बिहान बसेको प्रदेश ३ को कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा लैजाने एजेण्डा तय गरेको छ ।

आजको बैठकमा प्रदेशको नामाकरण कार्यविधि प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रदेश ३ को राजधानीकाको लागि हुने मतदान प्रक्रिया भने अनिश्चित देखिएको छ । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको मुख्य एजेण्डा लिएर प्रदेश ३ को प्रदेशसभा बैठक आजदेखि बस्दैछ ।

मतदानको मिति धकेलिने संकेत देखिएको छ । कार्यव्यवस्था परामर्श समितिले आज हुने बैठकमा शुभकामना आदनप्रदान, छलफल प्रक्रिया र नामाकरणको विषयमा कार्यविधि प्रस्ताव माग्ने एजेण्डा तय गरेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सत्तारुढ दल नेकपा संसदीय दलको बैठक नसकिएको कारण मतदान प्रक्रिया पछि धकेलिने भएको हो । केहीदिन अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २१ गते छलफल प्रक्रिया र २२ गते मतदान प्रक्रियामा लैजाने एजेण्डा तय गरेको थियो ।

‘मतदान प्रक्रिया २२ गते गर्ने तयारी थियो । नेकपा संसदीय दलको बैठक नसकिएको कारण मिति सर्नेछ ।–’ श्रेष्ठले तु खबरसँग कुरा गर्दै भने । नेकपा संसदीय दलको बैठक भोली मंगलबार बिहान बस्दैछ । संसदीय दलको निर्णयपछि मतदान प्रक्रिया निश्चित हुने देखिएको छ ।

गत आइतबार सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न प्रदेश ३ को नेकपा संसदीय दललाई निर्देशन दिएपछि प्रदेश सरकार तातिएको थियो ।

प्रदेशसभाको आजबाट सुरु हुने बैठकको मुख्य एजेन्डा प्रदेशको नाम र राजधानी हुने बताइएको छ । प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रदेशसभाको सत्तारुढ दल नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति छ ।

पार्टी सचिवालयले राजधानी हेटौंडा र नाम बागमती राख्न गरेको निर्णय अनुमोदन गराउन नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसे पनि बिनानिष्कर्ष मंगलबारसम्मका लागि स्थगित भएको छ । शुक्रबारदेखि जारी बैठक आइतबार ठोस निर्णय गर्दै स्थगित गर्ने बताइए पनि विवादले निर्णय हुन सकेको छैन् ।

अघिल्लो हप्ता मन्त्रीपरिषद्ले आकस्मिक बैठक राख्दै प्रदेशसभाको बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष ०७६–७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो ।

प्रदेशको नाम र राजधानीबारे मतदान भएमा नेकपाको प्रस्ताव पारित हुनेछ । प्रदेश ३ को ११० सदस्यीय सभामा ८० सांसद् नेकपाका छन् । यो संख्या प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि ७४ मत भए पुग्छ ।

प्रदेश ३ को प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी १–१ सांसद् छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*