केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’

तु खबर संवाददाता
२०७६ पुष २२,मंगलवार १५:०९

हेटौंडा, २२ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ को राजधानीमा हेटौंडाको विकल्प नभएको बताएका छन् ।

हेटौंडा राजधानी तोक्ने विषय थप जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको तीन समूह सोमबारै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं हानिएको थियो । आज भएको छलफलमा अध्यक्ष ओलीले ‘चुपचाप हेटौंडा’ मान्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

‘पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन । हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ । हेटौंडालाई राजधानी मानेर जानुस ।–’ पार्टी नेतृत्व भेट्न पुगेका नेताहरुलाई ओलीले भने ।

हेटौंडा राजधानी राख्नुपर्छ भन्ने पक्ष र विपक्षका सांसदहरु नेकपाका शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं गएका थिए । आज मुख्यमन्त्री निवासमा हुने भनिएको संसदीय दलको बैठक छोडेर केही नेताहरु सोमबारै संघीय राजधानी हानिएका थिए ।

प्रदेश नम्बर ३ का नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई र नेकपा प्रदेश ३ का सचिव नारायण दाहाललगायतको टोली काठमाडौं गएको थियो ।

उनीहरुले आज मंगलबार केपी ओली, माधवकुमार नेपाल र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

नेकपा केन्द्रीय सचिवालले गत आइतबार प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि राजधानीको विषयमा विवाद चुलिँदै गएको छ ।

विवादले हेटौंडामा ३ दिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो । नामको विषयमा अधिकांश सांसदहरुले सहमती जनाएपनि राजधानीको विषयमा विवाद हुँदै आएको हो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*