प्रदेशसभा बैठक आजः राजधानी र नामको प्रक्रिया अघि बढ्ने

तु खबर संवाददाता
२०७६ पुष २३,बुधबार ०९:४१

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज बुधवार दिउँसो ३ बजे पुनः बस्दैछ । सोमबारबाट सुरु भएको प्रदेशसभाको बैठक आज पुनः बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको प्रक्रियामात्र अगाडि बढ्ने भएको छ । प्रदेशको राजधानी र नामाकरणको स्थायित्वका लागि सदनमा महत्वपूर्ण मानिएको मतदान प्रक्रिया भने तत्काल अगाडि नबढ्ने भएको छ ।

सत्तारुढ दल नेकपा प्रदेश ३ को संसदीय दलभित्र राजधानी र नामाकरणको विषयमा सहमती नहुँदा आजको बैठकबाट प्रक्रिया मात्र अगाडि बढ्ने भएको हो ।

यसअघि सोमबारको बैठकमा राजधानी र नामको प्रक्रिया अगाडि बढाएर २२ गते मतदान गर्ने कार्यतालिका थियो ।

नेकपा संसदीय दलको बैठकमा राजधानी र नामको विषयले विवाद चुलिँदा मतदान प्रक्रिया धकेलिएको थियो । आज बस्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले पुस २७ गते मतदानको मिति तोक्ने स्रोतले जानकारी दिएको छ ।

‘बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको छु । उक्त बैठकले सदनको कार्यतालिका तय गर्नेछ ।–’ तु खबरसँग कुरा गर्दै सभामुख सानुकुमार श्रेष्ठले भने ।

उनले सहमतिको आधारमा राजधानीको स्थान र नाम तोक्नका लागि दलहरुले आन्तरिक तयारी गरिरहेको जानकारी गराएको बताए ।

सहभामुख श्रेष्ठले दलहरु बीच सहमति भएपनि प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा सदनबाट मतदान प्रक्रियाबाटै टुंग्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको बताए । उनले मतदानको मिति कार्य व्यवस्था तथा परामर्श समितिको बैठकबाटै टुंग्याइने जानकारी दिए ।

नेकपा प्रदेशसभामा कुल ११० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ ।

प्रदेश ३ मा नेकपाको मत

मकवानपुर ६, चितवन १०, काठमाडौं २०, ललितपुर ९, भक्तपुर ४, धादिङ ४, नुवाकोट ५, सिन्धुली ४, सिन्धुपाल्चोक ४, रामेछाप २, दोलखा ६, रसुवा १, काभ्रे ५ ।

१ सय १० सदस्यीय प्रदेशसभामा २ तिहाईका लागि ७४ मत चाहिन्छ । नेकपा आफैंसँग ८० मत छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*