नेकपाका सबै सांसद हेटौंडाको पक्षमा, ‘फ्लोर क्रस’ नगर्न ह्विप जारी

तु खबर संवाददाता
२०७६ पुष २४,बिहीबार ११:०७
फाइल तस्बिर

हेटौंडा, २४ पुस । प्रदेश ३ का नेकपा सांसदहरु स्थायी राजधानी हेटौंडालाई मानेर अघि बढ्ने भएका छन् । पार्टी ‘हाइकमाण्ड’को निर्देशन अनुसार सबै सांसदहरु हेटौंडाको पक्षमा उभिएको मुख्यमन्त्री निवासबाट स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री निवासमा जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा सबै सांससदले हेटौंडालाई राजधानी मानेर अघि बढ्ने प्रतिबद्धता जनाएको एक सांसदले तु खबरलाई जानकारी दिएका छन् । हेटौंडा र काभ्रेको पक्षमा नेकपा सांसदहरु विभाजित भएपछि दलको बैठकले निर्णय गर्न सकेको थिएन् ।

काभ्रे, दोलखा, रसुवालगायतका नेकपा सांसदले पार्टीको निर्देशन नमान्ने चेतावनी दिएका थिए । उनीहरुले राजधानी अपायक भएको भन्दै पार्टीको निर्देशन विपरित मतदान गर्ने बताएका थिए ।

पार्टी हाइकमाण्डले निर्णयबाट ‘ब्याक’ नहुने र निर्देशन नमानेलाई कारबाही गर्ने बताएपछि असन्तुष्ट सांसदहरु सकारात्मक देखिएको एक सांसदले बताए ।

बैठकमा पार्टी प्रदेश इञ्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्यले पार्टीको निर्देशन अनुसार अघि बढ्नु पर्ने धारणा राखेकी थिइन् ।

उनले विगतका दिनमा हेटौंडालाई राजधानी मानेर जान नसकिने भन्दै पार्टी नेतृत्वलाई भनेकी थिइन् । पुस २२ गते पार्टी ‘हाइकमाण्ड’ले पुनः जसरी पनि राजधानी हेटौंडा मानेर जान निर्देशन दिएपछि उनी सकारात्मक भएकी हुन् ।

नेकपा नेताहरुलाई मतदानको दिन हेटौंडाको विपक्षमा उभिएका सांसदहरुले सहमती जनाएपनि ‘फ्लोर क्रस’ गरेर विपक्षमा मतदान गर्ने सक्ने डर छ । आज मुख्यमन्त्री निवासमा बसिरहेको नेकपा प्रदेश संसदीय दलको बैठकले २७ गते हुने मतदानमा ‘फ्लोर क्रस’ नगर्न ह्विप जारी गर्ने भएको छ ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन् । मंगलबार नेताहरुले प्रदेश–३ को स्थायी राजधानीबारे असन्तुष्ट समूहसंग करिव ३ घण्टा छलफल गरेका थिए ।

हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भन्ने सांसदहरु प्रदेश नेकपा संसदीय दल बैठकमा विवाद बढेपछि शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं पुगेका थिए । मुख्यमन्त्री डोरमणि पौडेल निवास हेटौंडामा चलिरहेको संसदीय दलको बैठक स्थगित गरेर सोमबार सांसद् तथा मन्त्रीहरु काठमाडौं गएका थिए ।

पार्टी नेतृत्वसँगको छलफलमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसदहरू पशुपति चौलागाईं, राजेन्द्र पाण्डेलगायत थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*