नेकपा बैठकको निश्कर्षः राजधानीको लागि हेटौंडामात्रै प्रस्ताव, आज ह्विप लगाउने

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार ०९:५४

हेटौंडा, २५ पुस । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमती हुन नसक्दा हिजो बिहीवार बेलुका अबेरसम्म बसेको उपलब्ध नेकपा केन्द्रीय सदस्यहरुको बैठकले निश्कर्ष निकालेको छ ।

मुख्यमन्त्री निवास हेटौंडामा बसेको नेकपा नेताहरुको बैठकले प्रदेश ३ को राजधानी र नामाकरणलाई संसदीय प्रक्रियामा कसरी अगाडि बढउने भन्ने विषयमा छलफल चलेको थियो ।

पार्टी निर्देशन अनुसार राजधानी र नाम टुंग्याउन ह्विपको विषयमा पनि छलफल भएको स्रोतले जानकारी दिएको छ ।

बैठकले संसदमा राजधानी हेटौंडा र नाम बाग्मतीको मात्रै प्रस्ताव पेश गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

हेटौंडा र बाग्मतीको पक्षमा मतदान गर्न आज नेकपा प्रदेश संसदीय दलले ह्विप लगाउने निर्णय भएको जनाइएको छ ।

हिजो बिहीवार बसेको संसदीय दलको बैठक बिना निश्कर्ष स्थगित भएको थियो । दलको बैठकमा सदनमा हेटौंडाको मात्रै प्रस्तान लाने वा पाँचवटै जिल्लाको प्रस्ताव लैजाने भन्ने विषयमा सांसदहरुबीच रस्साकस्सी चलेको थियो ।

छलफलका क्रममा केही सांसदले राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको ५ जिल्ला संसदमा प्रस्ताव गर्नुपर्ने माग गरेका थिए ।

तर, नेकपा नेतृत्वको निर्देशन अनुसार प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती मात्रै प्रदेशसभामा प्रस्ताव अघि बढाएर दुईतिहाई पुर्याउन मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश कमिटीले आग्रह गरेको छ ।

स्रोतका अनुसार छलफलका क्रममा समितिले सिफारिस गरेको काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरको प्रस्ताव अघि बढाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्न सांसदहरुले नेतृत्व तहसँग अनुरोध गरेका छन् ।

हेटौंडा र काभ्रेको पक्षमा नेकपा सांसदहरु विभाजित भएपछि दलको बैठकले निर्णय गर्न सकेको छैन् । काभ्रे, दोलखा, रसुवालगायतका नेकपा सांसदले पार्टीको निर्देशन नमान्ने चेतावनी दिएका छन् ।

उनीहरुले राजधानी अपायक भएको भन्दै पार्टीको निर्देशन विपरित मतदान गर्ने बताउँदै आएका छन् । नेकपा नेताहरुलाई असन्तुष्ट सांसदहरुले ‘फ्लोर क्रस’ गरेर विपक्षमा मतदान गर्ने सक्ने डर छ ।

आज मुख्यमन्त्री निवासमा बस्ने नेकपा प्रदेश संसदीय दलको बैठकले २७ गते हुने मतदानमा ‘फ्लोर क्रस’ नगर्न ह्विप जारी गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*