दुई रात कुर्नुहोस्, राजधानी हेटौंडा पाउनुहुन्छः मुख्यमन्त्री डोरमणि पौडेल

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १२:०३

हेटौंडा, २५ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाले राजधानी पाउन दुई रातमात्र बाँकी रहेको बताएका छन् । उनले दुई रातपछि राजधानी हेटौंडा हुने भन्दै ढुक्क हुन आग्रह गरेका छन् ।

आज शुक्रबार उद्योग संघ मकवानपुरको १८ औं साधारणसभालाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले भने– ‘म यो कार्यक्रममा जति समयसम्म बस्छु, राजधानी बनाउन त्यति ढिला हुन्छ ।–’ पौडेलको भनाई अनुसार अबको दुई रातपछि प्रदेश ३ ले स्थायी राजधानी हेटौंडा पाउने निश्चित भएको छ ।

उनले औद्योगिक नीति र उद्योगलाई कसरी स्थापित गर्ने भन्ने विषयमा चिन्ता रहेको बताए । उनले प्रादेशिक औद्योगिक ऐन अन्तर्गन प्रदेश सरकारले निर्णय गर्न सक्ने अधिकार अहिलेसम्म नआएको बताउँदै उद्योग प्रदेश सरकारलाई हस्तान्तरण गर्न विविध कारणले रोक लगाएको बताए ।

उनले उद्योग नीति तथा प्रवद्र्धन र उद्योगका समस्या समाधान गर्न प्रदेश सरकार सधै तयार रहेको बताएका छन् । उनले उद्योग र नीति क्षेत्रको लगानीको ठूलो हिस्सालाई सरकारले सहयोग गर्ने बताएका छन् ।

औद्योगिक विकास, रोजगारीमा सिर्जनशिल हुन नसके समृद्धि पाउन नसकिने मुख्यमन्त्री पौडेलको भनाई छ । उनले देश अझै संक्रमणकालमा रहेको भन्दै संक्रमणकालिन अवस्थाको अन्त्य हुँदै गएकोले औद्योगिक क्षेत्रको विकासले फड्को मार्ने बताए ।

कार्यक्रममा बोल्दै उद्योग वन पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले उद्योगका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताए ।

प्रदेश सांसद तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले उद्योगलाई सरकारले संरक्षण गर्नुपर्ने बताएकी छिन् । उद्योग खोल्नेलाई राज्यले जग्गा उपलब्ध गराउनु पर्ने बताइन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*