मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भत्सर्ना

तु खबर संवाददाता
२०७६ पुष २८,सोमबार १२:५८

हेटौंडा, २८ पुस । आइतबार प्रदेशसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिप्रति विवेकशील नेपाली दलले खेद प्रकट गरेको छ ।

आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी आइतबार मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै विवेकशीलले सोमबार विज्ञप्ति प्रकाशित गरी भत्सर्ना गरेको हो । विवेकशीले संसदको अभिलेखबाट समेत मुख्यमन्त्रीको अभिव्यक्ति हटाउन माग गरेको छ ।

‘उक्त अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष राखी ‘सांसद नै नरहन सक्ने’सम्मको धम्कीपूर्ण भाषाको प्रयोग गैरसंसदीय भएकाले मुख्यमन्त्रीको उक्त वक्तव्य प्रतिखेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशको राजधानी हेटौंडा प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै प्रस्तावक रहेका मुख्यमन्त्री पौडेलले आफ्नो पार्टीको सचिवालयको निर्णयविरुद्ध बोल्ने हैसियत कसैको नभएको बताएका थिए ।

काभ्रेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा विवेकशीलका सांसद पौड्यालले पनि मुख्यमन्त्री र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अभिव्यक्ति दिएका थिए । उनले मुख्यमन्त्री र बानियाँलाई लोकतन्त्र र गणतन्त्रको बारेमा पाठ सिकाएका थिए ।

विवेकशीलका संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद रमेश पौड्यालले नेकपाले प्रदेश राजधानी तोक्न हृवीपको तरवार चलाउनु दुःखद भएको टिप्पणी गर्दै प्रश्न गरेका थिए । पौड्यालले नेकपा सचिवालयको निर्णयले संसदीय प्रणालीमाथि गम्भीर प्रश्न उठेको बताएका थिए ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएको स्मरण गर्दै उनले भनेका थिए, ‘कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेको स्व. मदन भण्डारीकै पार्टीले प्रदेशको राजधानी तोक्न ह्वीपको तरवार चलाउनु दुःखद ।’ उनले कांग्रेसले लगाएको ह्वीप पनि अस्वभाविक भएको प्रदेशसभा सदस्य पौडेलले बताए ।

पौड्यालको जवाफ दिने क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी निर्णयमाथि प्रश्न नउठाउन धम्कीसमेत दिएका छन् । संसदीय व्यवस्थामा पार्टीले कार्यकर्तालाई निर्देशन दिनसक्ने भन्दै उनले भने, ‘मेरो पार्टीको सचिवालयको निर्णयविरुद्ध आवाज उठाउने हैसियत कसले राख्न सक्छ याहाँ ?’

विवेकशीलका पौड्यालको नाम नलिई उनले प्रदेशसभा सदस्य नै नरहने सक्ने चेतावनी दिए । विवेकशील र साझा अलगअलग भएपछि अदालतमा विचारराधीन मुद्दातर्फ संकेत गर्दै उनले भने, ‘अदालतले फैसला गरिसकेपछि सम्भवत उहाँ यो हैसियतले रोष्टममा उपस्थित हुन सक्नुहुन्छ कि सक्नुहुन्न आफ्नो ठाउँमा छ । जहिलेसम्म हैसियत राख्नुभएको छ, त्यसमा भन्नु ठूलो भएन ।’

लोकतन्त्रको पाठ सिकाउन खोजेको भन्दै मुख्यमन्त्री पौडेलले ‘हामीले बच्चै रहेछौं, लोकतन्त्रबारे केही बुझेकै रहेनछौं’ भन्दै व्यंग्य गरे । प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*