मकवानपुरमा श्रृंखलाले निर्माण गरेको स्वास्थ्य चौकी हेर्न मिस वर्ल्डसहित आयोजक आउँदै
![](https://www.tukhabar.com/wp-content/uploads/2020/03/shrinkhala-and-miss-world-2019.jpg)
हेटौंडा, २२ फागुन । मिस नेपाल २०१८ की बिजेता तथा मिस वल्डमा प्रभावशाली प्रस्तुती दिनु भएकी मकवानपुरे चेली श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकी हेर्न मिस वर्ल्डसहित आयोजक मकवानपुरको कैलाश आउनु हुने भएको छ ।
स्वास्थ्य चौकी हेर्न वल्र्ड २०१९ का बिजेता टोनी एन सिंह, मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्ले र मिस वर्ल्ड निर्देशक स्टिभ डगलेस मकवानपुर आउनु हुने भएको जनाइएको छ ।
मिस नेपाल २०१८ का बिजेता श्रृंखला खतिवडाको नेतृत्वमा मिस वल्ड २०१९ टोनी, मिड वल्र्ड आयोजक संस्थाकी अध्यक्ष मोर्ले, निर्देशक डगलेस, मिस नेपाल २०१९ का बिजेता अनुष्का श्रेष्ठ मकवानपुरको कैलाश गाउँपालिका आउन लागेको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिनु भयो ।
फागुन २३ गते कैलाश गाउँपलिका वडा नं. ७ स्थित ङिको स्वास्थ चौकी ताम्लाङमा आउने कार्यक्रम रहेको उहाँले बताए । उहाँले उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गर्नु भएको छ । उक्त अवसरमा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरेर उहाँहरुको स्वागत गर्ने तयारी गरिरहेको छ ।
मिस नेपाल–२०१८ शृंखलाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकाको ताम्लाङमा निर्माण भएको स्वास्थ्य चौकीमा उक्त टोली पुग्ने कार्यक्रम रहेको छ ।
शुमिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ‘ब्युटी अफ दी प्रपोज’ को रूपमा शृंखलाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गर्नु भएको थियो ।
५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको गत मसि ६ गते बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गर्नु भएको हो ।
कैलाश गाउँपालिका–७ र राक्सिराङ गाउँपालिका–४ का स्थानीय गरि करिब ७ सय घर धुरीको ४ हजार जनसंख्यालाई लक्षित गरेर स्वास्थ्य चौकी निर्माण गरिएको थियो ।
मिस वल्र्ड र मिस वल्ड आयोजक संस्थाको टोली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै उहाँहरू ३ दिनका लागि नेपाल भ्रमणमा आउन लागेको मिस नेपाल आयोजक संस्था दि हिडन ट्रेजरले जानकारी दिएको छ ।
दि हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र ‘भिजिट नेपाल २०२०’ को उपलक्ष्यमा मिस वर्ल्ड टोनी र अध्यक्ष जुलियालाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो । मिस वर्ल्ड आयोजक संस्था र दि हिडन ट्रेजरको सहकार्यको २३ वर्षमा पहिलो पटक यो भ्रमण हुन लागेको हो ।
उहाँहरू ५ मार्चदेखि ७ मार्चसम्म नेपाल भ्रमणमा रहने र त्यस क्रममा मकवानपुर र सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको छ ।