नेपालले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्दै भारतको कूटनीतिक नोट
काठमाडौं । नेपालले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ ।
राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् ।
बैठकमा उनले नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्सालाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको जानकारी गराए ।
भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन ।
यद्यपि नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् ।
नेपालले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।