प्रल्हाद लामिछाने : २ वर्षको जेल, ५ वर्ष सभासददेखि नयाँशक्तिसम्म
हेटौँडा, १६ कात्तिक । नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रल्हाद लामिछानेले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
२० बर्षको चुनौतीपूर्ण राजनीतिक यात्राको अनुभव बटुलेका लामिछानेको जन्म २०२९ साल फागुन २९ गते मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा भएको थियो । वि.सं. २०४४ सालमा मसाल विद्यार्थी संगठनमा आवद्ध भएसंगै उनको राजनितिक जीवनको सुरुवात भएको थियो । उनी २०४८ सालमा सोही संगठनको अध्यक्ष समेत भए ।
तत्कालिन माओवादीमा रहेका उनलाई २०५८ साल देखि २०६० सालसम्म सरकार पक्षले जेल समेत हालेको थियो । लामिछानेले नेपालमा संघियताका चुनौतीहरु भन्ने बिषयमा पिएचडी गरिरहेका छन् भने समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनी २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा माओवादीको तर्फबाट मकवानपुरकोे क्षेत्र नम्वर ३ को उम्मेदवार बनेका थिए र बिजयी पनि भएका थिए ।
डाक्टर बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल विस्तार भएसँगै मकवानपुर जिल्लाका संस्थापक संयोजक बनेका लामिछाने हाल पार्टीका केन्द्रीय सदस्य हुन् ।