चुनावको अभियान लिएर काँग्रेस मकवानपुरको मार्खुमा
कात्तिक, १८ कात्तिक । आगामी मंसिरमा हुने चुनावमा सफल हुनका लागि अभियान सहित नेपाली काँग्रेसको टोली मकवानपुरको मार्खुमा पुगेको छ । आज मार्खुमा क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ताहरुको भेला आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले लोकतन्त्रको संस्थागत र संरक्षण गर्ने दायित्य काँग्रेसमा आएको बताए । उनले आगामी निर्वाचनमा बामगठबन्धनले काँग्रेसलाई केही असर नगर्ने पनि दाबी गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएपनि आगामी निर्वाचनमा काँग्रेसले जित्ने बताउँदै मकवानपुरको प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपाध्यायले जनता कम्युनिष्टको पक्षमा नरहेको बताए । विगतका निर्वाचनमा बामगठबन्धन भएपनि काँग्रेसले बहुमत पाएको भन्दै उनले आगामी निर्वाचनमा काँग्रेसनै पहिलो पार्टी बन्ने दाबी गरे ।
भेलामा काँगे्रस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने कम्युनिष्टहरुले सपना बाँढ्ने गरेको तर जनताका काम नगर्ने गरेको बताए । भेलामा क्षेत्र नम्बर २ प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटाले काँग्रेसको नेतृत्वमा संविधान जारी भएकोले अब विकास र समृद्धि पनि काँग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताए ।