तत्काल विद्यालय नखोल्न शिक्षामन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको जोखिम कायमै रहेको अवस्थामा केही समय विद्यालय नखोल्न निर्देशन दिएका छन् ।
उनले विद्यालय खोल्नभन्दा बैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
शिक्षा पत्रकार समाजले आज आयोजना गरेको बैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्ययमको भूमिका विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकोले अहिलेको लागि सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित बैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरे ।
मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको बताए ।
उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए । कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् ।