रङ्गशालाको काम सुस्त !

तु खबर संवाददाता
२०७४ कार्तिक ११,शनिबार ११:१७

मकवानपुरको हेटौंडा उपमहानगरभित्र गत सात वर्षदेखि निर्माण भइरहेको गौरीटार रङ्गशालाको निर्माण कार्य अझै अपूर्ण रहेको छ । वि.स.२०६६ सालदेखि सुरु भएको रङ्गशाला निर्माण कार्य पाँच वर्षभित्र पूरा गरिसक्ने योजना बनाइएपनि लक्ष्य बमोजिम काम हुन नसकेको हो । मकवानपुरमा ‘मल्टिपल स्टेडियम’ को अवधारणा बमोजिम निर्माण थालनी गरिएको रंगशालामा अहिले ब्वाइज होस्टलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिती मकवानपुरका कार्यालय सचिव राजन दाहाल खुसराजले जानकारी दिए । ‘रंगशाला निर्माण कार्य बहुवर्षिय योजना भएकाले निर्माण कार्य निरन्तर चलिरहेको छ । ’ उनले भने, ‘योजना बमोजिम काम सक्न अझै केही वर्ष लाग्नसक्छ ।’

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रङ्गशालाको काम  पटक पटक हुने सरकार परिवर्तनका कारण ओझेलमा पर्दै आएको छ । करिब २३ विगाहा क्षेत्रमा रहेको रङ्गशालामा बहुपयोगी खेल संरचना निर्माणको कार्य योजना बनाइएपनि कामले तिब्रता पाउँन नसक्दा मकवानपुरे खेलप्रेमी चिन्तित छन् ।

रङ्गशालामा स्वीमङ्, क्रिकेट मैदान, कबर्ड हल, प्याराफिट सहित फुटबल हेर्न सकिने मैदान लगायत संरचना निर्माणको अबधारणा बनाएर काम आरम्भ गरिएको थियो । रङ्गशाला पूर्ण रुपमा सम्पन्न गर्नका लागि अहिले पनि सरकारले डीपीआर बनाउने काम गरिरहेको कार्यालय प्रमुख खुसराजले बताए । ‘काम सम्पन्न नहुञ्जेलसम्म आवश्यक संरचना निर्माणदेखि अन्य कार्य चलिरहने भएकाले अहिले पनि सरकार डीपीआर बनाउने काममा छ । ’ उनले भने, ‘ सरकारले तयार पारेको डीपीआर राष्ट्रिय खेलकुद परिषदको निर्णयपछि अघि बढ्नेछ ।’

सुरुमा पाँच वर्षभित्र रङ्गशालाको आवश्यक सम्पूर्ण काम सक्ने गरी २ अर्ब बजेट विनियोजन गरिएकोमा आर्थिक अभावका कारण कामको गतिले तिब्रता नपाँउदा योजना लम्बिदै गएको हो । निर्माण कार्य सुस्त गतिमा हुनु र सरकार फेरिएपछि प्राथमिकतामा नपर्नुजस्ता कारणले मकवानपुरको खेलक्षेत्र विकासका लागि महत्वपूर्ण मानिएको रङ्गशाला कहिले पूर्ण रुपमा तयार होला भन्नेमा खेलप्रेमी चिन्तित छन् ।

बहुवर्षिय योजना भएकाले काम निरन्तर ः कार्यालय प्रमुख दाहाल, जिल्ला खेलकुद विकास समिती मकवानपुर
मकवानपुरको खेल क्षेत्रको विकासका लागि रङ्गशाला निर्माण थालनी गरिएको हो । वि.सं २०६६ सालबाट रङ्गशालामा पर्खाल लगायर काम सुरु गरिएपनि अहिलेसम्म सम्पूर्ण संरचना निर्माण सम्पन्न हुन सकिरहेको छैन । यसको कारण भनेको यो बहुवर्षिय योजना हो । अहिले पनि सरकार डीपीआर तयार पारेर राष्ट्रिय खेलकुद परिषदलाई निर्णयका लागि दिँदैछ । हालसम्म ब्वाइज होस्टलको निर्माण कार्य अरु कामको तुलनामा निक्कै अगाडी बढेको छ । अब केही समयमा व्वाइज होस्टलको निर्माण कार्य सकिँदै छ ।

रङ्गशालमा स्वीमीङ् पुल, क्रिकेटमैदान, कबर्डहल, प्याराफिटको सुविधा सहिच फुटलब ग्राउन्ड निर्माणका लागि काम तिब्र गतिमा भइरहेको छ । यहि गतिमा काम हुँदै जाने हो भने अब केही वर्षभित्र बहुपयोगी रङ्गशालाले अन्तिम रुप पाउँनेछ तर राज्यको तर्फबाट समयमै बजेट विनियोजन लगायतका आवश्यक सहयोग हुनुपर्दछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*